१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेशका मन्त्रालय हटिया सारिन्छ : मुख्यमन्त्री पाण्डे


20.839k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने स्थायी भौतिक संरचना हेटौंडाको हटियामा निर्माण गरिने बताउनुभएको छ ।

हेटौंडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले हेटौँडाको हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालय र संसद् भवनसमेत निर्माण गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले एकै स्थानमा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालय र संसद् भवन पनि निर्माण गर्ने तयारीका साथ काम अगाडि बढेको बताउनुभयो ।

प्रशस्त जमिन भएकाले उक्त स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि आवश्यक पर्ने कार्यालय तथा आवश्यकताअनुसार अन्य कार्यालय पनि निर्माण गर्न सहज हुने उहाँको भनाइ थियो । जग्गा प्राप्तिका लागि सङ्घीय सरकारसँग काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

कार्यालय निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा रु एक अर्ब पाँच करोड बजेट छुट्याइएको पाण्डेले जानकारी दिनुभयो ।