२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सिन्धुलीकोे ऐतिहासिक पौवागढी संरक्षण बिहीन


130
Shares

सिन्धुली । सिन्धुलीमा पछिल्लो समयमा नयाँ पूर्वाधारहरु निर्माण भएसँगै वीरताको पौवागढी सुनसान बन्न पुगेको छ ।

नेपाल एकीकरण अभियानका क्रममा वीर गोर्खाली र भारतबाट नेपाल भित्रिएको ईष्ट इन्डिया कम्पनीका अंग्रेजहरुकाबीच सिन्धुलीगढीमा युद्ध हुँदा गोर्खालीहरु तैनाथ रहेको सिन्धुलीगढीको सहायक किल्ला पौवागढी सरकारी उदासिनताका कारण ओझेलमा परेको हो । ऐतिहासिक सिन्धुलीगढीसँगै रहेको पौवागढी किल्ला वि.स. १८२४ को असोज कार्तिकमा गोर्खालीहरु घरेलु हतियारले तैनाथ भइ भोक-भोकै युद्ध गरेकाे रातो रगतले भिजेको किल्ला मानिन्छ ।

विगतमा वीर गोर्खालीहरुले युद्ध लडेर आलो रगतले भिजेको स्थान, गोर्खालीहरुको वीरता, बहादुरको कहानी बोकेको युद्ध किल्ला, तत्कालीन अवस्थामा लडाई लडन प्रयोग गरिएका पर्खालहरु घुँयत्रो, गुलेली हान्न प्रयोग भएका मट्याङग्राहरु र ढुङगाका थुप्राहरुका अवशेषहरु आज पनि ताजा नै अवस्थामा भेटिन्छन् ।

नेपाल र अंग्रेजहरुकाबीच भएको युद्धमा गोर्खालीहरु पौवागढी किल्लामा तैनाथ रहेर घरेलु हतियार खुकरी खुर्पा, लठ्ठीको प्रयोग गर्नुका अतिरिक्त अरिंगाल र बारुला बिच्छाएर, गुलेली र घुँयत्रो हानेर युद्ध गरी अंग्रेजहरुलाई परास्त पारेका थिए ।
जयप्रकाश मल्ललाई सहयोग गर्न आएक अंग्रेजहरुलाई अरिंगाल र बारुलाले चिलेका कारणले पौवागढी आसपास सयौं अंग्रेजहरुको मृत्यु भएको इतिहासमा उल्लेख रहेको छ ।

ऐतिहासिक सिन्धुलीगढी भन्दा ५ मिटर तल पौवागढी किल्ला डाँडो भू-भागमा अवस्थित रहेको छ । सोही स्थानमा अंग्रेजहरु जंंगलको बाटोबाट आउदा सिस्नो र अल्लोले समेत पोलेपछि पौवागढी युद्ध किल्लामै आउन नसकी तलबाटै भागेका थिए ।कप्तान किनलोकको नेतृत्वमा आएका ईष्ट इन्डिया कम्पनीका अंग्रेजहरु सिन्धुलीगढीको बाटो हुँदै काठमाडाैं जाने क्रममा गौर्खाली फौजले पौवागढी युद्धमा किल्लाबाट समेत परास्त गरेका थिए ।

अंग्रेजहरुलाई वीर गोर्खालीहरुले घरेलु हतियारको भरमा युद्ध लडेर पराजय गरेको ऐतिहासिक युद्ध किल्ला, लुकेको इतिहास बोकेको स्थान पौवागढीको उचित रुपमा संरक्षण हुन नस्कदा ओझेलमा परेको हो ।