१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जताततै डेंगुको डर, के गर्दैछ सरकार ?

डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव

741
Shares

काठमाडौं । ‘आर्बोभाइरस’ का कारण लाग्ने डेंगु संक्रमण देशभर फैलिएको छ ।

सरकारी, निजी सबै अस्पतालमा डेंगु संक्रमितको संख्या बढिरहेको छ । चिकित्सककाअनुसार डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । डेंगु संक्रमणले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । पानी पर्ने सिजन अझै नसकिएकोले असोजको अन्तिमसम्म डेंगु संक्रमण जोखिम उच्च रहेको विज्ञहरु बताउँछन् ।

सन् २०१९ मा देखिएको डेंगु विगतका वर्षहरुमा भन्दा यो वर्ष संक्रमणको उच्च जोखिम रहेको विज्ञको आशंका रहेको छ । डेंगु संक्रमण न्यूनिकरणका लागि जनचेतना नपुगेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टे नियन्त्रणका लागि जोड दिएपनि प्रभावकारी भएको पाइँदैन । मन्त्रालयले जोखिम न्यूनिकरणकालागि प्रदेश, जिल्ला र स्थानीयतहको समन्वयमा लाम्खुट्टेको लार्भा खोज र नष्ट गर भन्ने अभियान अघि बढाएको जनाएको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा तीन हजार सात सय बढी संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा २५ सय, मकवानपुरमा एघार सय, तथा रुपन्देहीमा करिव ६ सय जनामा संक्रमण देखिएको छ । झाडी फाँड्ने वा पेस्टिसाईड छर्ने, घर वरीपरी सुख्खा राख्ने सरसफाई गर्ने लगायतका काम नै नभएकोले लामखुट्टे बढ्दो रुपमा रहेको र यसले झनै जोखिम बढाएको देखिएको छ ।

डेंगुको यकिन औषधी यो भन्ने नभएकोले निको हुने विश्वासमा मेवाको पात लगायतका घरेलु औषधि हल्लाका भरमा प्रयोग नगर्न चिकित्सकहरुको सुझाव रहेको छ । त्यस्तै डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् ।

डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्ने गर्दछन् । यता, बजारमा सिटामोलको अभाव देखिएपछि औषधि विभागले लिमिटेडले सिटामोलको उत्पादन बढाउने तयारी गरेको जनाएको छ । सामान्यतया डेंगु भएकाहरुले झोलिलो खानेकुरा खाने गर्नु पर्दछ ।

लामखुट्टे विहान तथा साँझको समयमा बढी सक्रिय हुने हुनाले त्यो समयमा सर्तक हुनुपर्ने देखिन्छ । संक्रमणको जोखिमबाट जोगिन आफै सर्तक हुनुको विकल्प छैन ।