५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पर्यटन व्यवसायी धमाधम फर्किंदै


182
Shares

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बढ्न थालेसँगै अफ सिजनमा बाहिर गएका सोलुखुम्बुका पर्यटन व्यवसायीहरु धमाधम फर्किन थालेका छन् ।

पछिल्लो समय सो क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकहरुको चाप बढेसँगै भ्रमण तथा अन्य कामका लागि अन्यत्र गएकाहरु खुम्बु फर्किने क्रम शुरु भएको हो । वर्षायाम शुरुभएपछिको ‘अफ सिजन’मा बन्द भएका होटलहरु करिब ८० प्रतिशत भन्दा बढी खुलिसकेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँकाअनुसार यस वर्षको ‘अफ सिजन’मा पनि खुम्बुमा पर्यटक आवागमन राम्रो रहेको थियो ।

कतिपय होटल सिजनमा मात्रै सञ्चालन हुने भएकाले सञ्चालकहरु ‘अफ सिजन’मा काठमाण्डौँसहित अन्यत्र घुमफिरमा जाने गर्दछन् । तर सिजन सुरु भएर पर्यटकको संख्या बाक्लिएसँगै व्यवसायीहरु पनि फर्किने क्रम उच्च रहेको होटल सञ्चालक भिम श्रेष्ठले बताउनुभयो । पर्यटन सिजन सुरु हुन थालेसँगै खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, ठाङनाक तथा थामेलगायतका बासिन्दा आफ्नो व्यवसाय सञ्चालनमा फर्केका हुन् ।

पर्यटकको मौसम प्रतिकुलताका कारण उडान प्रभावित हुँदा समस्या भएको व्यवसायीहरुले बताएका छन् । खुम्बुसम्म सडक नपुगेकाले सो क्षेत्रमा हवाई मार्ग नै भरपर्दो विकल्प मानिएको छ । मौसमले साथ नदिदाँ बेला बेला पर्यटक आवगमन नै ठप्प हुने गरेको स्थानीयको भनाइ छ । खुम्बुमा वर्षको दुई सिजनलाई पर्यटकीय सिजन मानिएकोमा असोज, कार्तिक, मंसिरलाई अक्टोबर सिजन मानिन्छ ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाकाअनुसार सिधै काठमाडौँबाट लुक्ला हुँदै हवाइजहाजमार्फत यस क्षेत्रका अधिकांश स्थानीय व्यवसायी फर्केका छन् । मौसम प्रतिकूलताले उडानमा समस्या रहेको बताइएको छ ।