
सिन्धुली । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएर गएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाले युद्धसंग्रहालयको स्वामित्व लिएर सिन्धुलीगढी अवलोकनका लागि खुल्ला गरेपछि अहिले संग्रहालय हेर्न आउने मानिसको संख्या बढ्दै गएको हो ।
सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्धकला संग्रहालय अबलोकन गर्न आउने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै जादाँ सिन्धुलीगढीको महत्व र महिमा समेत बढेको छ ।
युद्ध संग्रहालय र सिन्धुलीगढी अवलोकन गर्न दैनिक कम्तीमा तीन सयभन्दा बढी व्यक्तिहरु आउने गरेको कमलामाई नगरपालिकाले जनाएको छ ।
सिनधुलीगढी युद्ध संग्रहालयको परिसरमा निर्माण भएको वीर योद्धाहरू श्रीहर्ष पन्त, बंशु गुरुङ, बंशराज पाण्डे र बिरभद्र उपाध्यायको प्रतिमा, ठूलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण शाहको पूर्णकदको शालिकले सिन्धुलीगढीको ऐतिहासिक महत्वमा बढेको छ ।
दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला हुने उक्त संग्रहालय अबलोकन गर्न नेपाली नागरिकले प्रतिव्यक्ति ५० रुपैयाँ र बिदेशी नागरिकले एक सय रुपैयाँ शुल्क तिर्नु पर्दछ । संग्रहालय नेपालकै पहिलो दुर्लभ भएकोले पनि यसको चासो लिएर हेर्न आउने मानिस बढ्दै गएका हुन् । संग्रहालय अवलोकन गर्न आउनेमध्ये ४५ प्रतिशत नागरिक भारतीय हुने गरेका छन् ।
संग्रहालय नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध संग्रहालय बनाउन सुरु गरिएको थियो । ६ हजार २ सय ८१ स्क्वायर फिट क्षेत्रफलमा ६ कोठे १ तल्ले संग्रहालय नेपाली सेनाको करिब ७ करोड रुपैयाँ लागतमा सिन्धुलीगढीमा निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्