
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटमा सक्रिय भएका छन् । पार्टीका शीर्ष नेताहरुको घरदैलोमा उम्मेदवारका आकांक्षीहरुको भीड लाग्न थालेको छ । उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि खासगरी ठूलो र स्थापित राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा आकांक्षी व्यवस्थापन जटिल बनेको छ । अन्य दलहरुमा उम्मेदवार र चयनको विवाद सुसुप्त अवस्थामा रहेपनि कांग्रेसभित्र अन्तरसंघर्ष नै चलिरहेको छ ।
आसन्न निर्वाचनमा तालेमल गरेर जाने सहमति गरेको सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको रस्सा कस्सी चलिरहँदा त्योभन्दा बढी झगडा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र देखिएको छ । टिकट बाँडफाँटकै विषयलाई लिएर कांग्रेसभित्र संस्थापन र इतर समूहबीच तीव्र संघर्ष चलिरहेको छ । संस्थापन पक्षले सकेसम्म इतर समूहलाई पेलेर जाने नीति लिएको छ ।
यसको उदाहरण हो सिट बाँडफाँटका लागि गठबन्धनको छलफलमा पार्टी सभापति देउवा इतर समूहको चासोलाई बेवास्ता गर्दै लचिलो देखिनु । डा. शेखर समूह कांग्रेसले कम्तीमा १०० सिट लिनुपर्ने, नभए एक्लै चुनावमा जानुपर्ने तर्क गरिरहेको छ । यसको लागि शेखर समूहले नेतृत्वलाई निरन्तर दवाव दिइरहेको छ । तर, पार्टी सभापति देउवासहित पक्षधर नेताहरु गठबन्धन जोगाउने नाममा प्रतिनिधिसभाका १६५ मध्ये ८५ सिटको वरिपरीमा सहमति जनाउने मनस्थितिमा देखिन्छन् ।
गठबन्धनभित्र सिट बाँडफाँट क्रममा संस्थापन पक्षले आफ्नो समूहका नेताको उम्मेदवारी सुरक्षित गर्ने र इतर समूहका नेताहरूको निर्वाचन क्षेत्रको बारेमा मौन रहने अवस्था बुझेपछि डा. शेखरले सय सिटभन्दा तल सहमति गरेको अवस्थामा कांग्रेसभित्रै विद्रोह हुने बारम्बार चेतावनी दिइरहनुभएको छ ।
कांग्रेसले कम सिट लिँदा आफ्नो पक्षका नेताहरूलाई उम्मेदवार हुनबाट वञ्चित गराउने त्रासमा कोइराला समूह छ । पार्टीभित्र न्यायसंगत निर्णय नभए डा. शेखरले भने जस्तै बिद्रोह हुनसक्ने आशंका कांग्रेस वृत्तमा पनि देखिन्छ । निर्वाचनमा विभेदपूर्ण तरिकाले टिकट वितरण गर्न नहुने राजनीतिक विश्लेषक लोकेश ढकाल बताउनुहुन्छ ।
कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्नुभएका डा. शेखर समूहलाई सभापति देउवामा ठूलो ठाउँ दिने मनसाय देखिँदैन । त्यसकारण कांग्रेसले पाउने सिट जति कम भयो, त्यति आफ्नो समूहका नेताहरू नै उम्मेदवार बन्न वञ्चित हुने भय इतर समूहमा छ ।
निर्वाचन क्षेत्र बाँडफाँट गर्दा नै इतर समूहका नेताको निर्वाचन क्षेत्र अर्को पार्टीलाई दिएपछि पार्टीमा टिकट पाउने अवस्था नै बाँकी नरहने त्रासले इतर समूहलाई पिरोलिरहेको छ । तर, संस्थापन पक्षका नेताहरु भने टिकट बाँडफाँटमा अन्याय नहुने दावी गर्छन ।
आमनिर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र देखिएको अन्तरसंघर्षले पार्टीभित्र अविश्वास चुलिँदै गएको छ । बढ्दो अविश्वासले निर्वाचनमा पनि कांग्रेसको परम्परा जस्तै बनेको घातअन्तरघातको रोग नबल्झिएला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्