
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभयो । उहाँले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताउनुभयो । उहाँले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्नेकुरा पनि केही मानिसहरुले गर्ने गरेको बताउनुभयो । उहाँले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताउनुभयो । उहाँले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताउनुभयो । उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिएपनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गर्नुभयो । अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्