१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘अग्निपथ’बारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय


260
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ ।

बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताउनुभयो । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उहाँले बताउनुभयो ।

सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती सुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिव ३० हजार नेपाली सेवारत छन् । प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको बताउँदै यो विषय राजनीतिक दलहरुसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताउनुभयो ।

प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैंअद्धि पूर्ण रुपमा नाका सञ्चालन हुने बताउनुभयो । उहाँले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँ भन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । उहाँले उत्तरी नाकाबाट व्यापारिक सामग्रीहरुको आवागमन राम्रो र निर्वाध होस् भन्ने चाहना नै सरकारको रहेको बताउनुभयो ।

प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा पाकिस्तान सरकारलाई नेपालले गरेको सहयोग, बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि नेपालले गरेको सम्मान र चिनियाँ काजनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबारे जानकारी गराउनुभयो ।