
बारा । किर्ते काम गर्न नमानेका दुई जना अमिनलाई बाराको जितपुर सिमरा उपमहानगरको वडा नम्बर तिनमा वडा अध्यक्षले कोठामा थुनेको विरोधमा कर्मचारीहरुले कारवाहीको माग गर्दै बिहिबार उपमहानगर ठप्प पारेका छन ।
वडा नम्बर तिनका वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा लगेर थुने पछि बुधबार साझ प्रहरीले उद्धार गरेको थियो । कर्मचारीहरुले कारवाहीको माग गर्दै वडाको कामकाज समेत ठप्प पारेको हो ।
वडा अध्यक्ष कार्कीले अमिनद्वयलाई विवादित मुद्दा परेको सरकारी जग्गा जबरजस्ती नाप्न लगाई मुचुल्कामा सहि छाप गर्न भने पछि अमिनहरुले कानुन विपरीत हुने भन्दै नमाने पछि कोठामा लगेर थुनेका थिए । ईलाका प्रहरी कार्यालय सिमराको टोलीले दुबैलाई बुधबार साँझ उद्धार गरेको थियो ।
अमिन प्रदीप कुमारले वडा अध्यक्ष कार्कीले अवैध काम गराउन खोजे पछि नमान्दा आफूहरुलाई बुधबार दुव्र्यवहार गर्दै कोठामा लगेर थुनेको र साँझ प्रहरीले उद्धार गरेको बताएका छन । कर्मचारी आन्दोलित भए पछि सबै वडामा दिनभर सेवाग्राहीले सेवाबाट बन्चित बनेका थिए । पर्सा राष्टिय निकुन्जको मध्यवर्ती क्षेत्रमा रहेको उक्त वडाको अधिकांश सार्वजानिक जग्गा विवादित र किर्ते रहेको यस अघि सार्वजानिक भएको थियो ।
निर्वाचित भए लगतै पटक पटक विवादमा परेका वडा अध्यक्ष कार्कीले केही दिन अघि एक औद्योगिक प्रतिष्ठानको मुल गेट सार्वजानिक जग्गामा बनेको भन्दै उखेलेर लगे पछि उनी विवादित बन्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस्