
काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेबेंसीमा रहेको मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ ।
मेथिनकोट अस्पताल र मानसिक अस्पताल लगनखेलबीच हरेका महिनाको अन्तिम बिहिबार निःशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति भएको हो । उक्त कार्यक्रमको उद्घाटन वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रविधिको गलत प्रयोग तथा बदलिँदो जीवनशैलीका कारण मानसिक तनाव बढ्दै गएको बताउनुभयो ।
मानसिक स्वास्थ्यको बारेमा समयमै जानकारी गराएर सचेत गराउन कार्यक्रम प्रभावकारी हुने उहाँको विश्वास छ । फरक प्रसंगमा मन्त्री लामाले बढ्दो डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय सरकार लगायत सरोकारवालामा आग्रह गर्नुभएको छ । उहाँका अनुसार बागमती प्रदेशका १२ वटा जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । रसुवा जिल्लामा भने डेंगुको संक्रमण पुष्टि भएको छैन । कोरोना महामारीमा जस्तै सबैको सहयोगबाट डेंगु पनि नियन्त्रण हुने उहाँको विश्वास छ ।
कार्यक्रममा वागमती प्रदेशसभा सदस्य एवं पुर्व मन्त्री चन्द्र लामाले प्रदेशस्तरीय मेथिनकोट अस्पताललाई भौतिक पुर्वाधार, जनशक्तिको व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले जिल्लामा आत्महत्या स्थिती डर लाग्दो रहेको बताउनुभयो । उहाँका अनुसार ३ वर्षको अवधिमा जिल्लामा ३ सय ९२ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा मात्रै १ सय १९ जनाले आत्महत्या गरेका छन् । प्रत्येक आत्महत्याले १३५ जनालाई प्रत्यक्ष असर पार्दछ ।
मानसिक स्वास्थ्य शुभारम्भ कार्यक्रममा वागमती प्रदेश सभा सदस्य गोमा भुर्तेल, मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, नमोवुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा लगायतले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्यक्रम तय गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्