
काठमाडौं । दशैँ तिहारलाई मीठो खाने र राम्रो लगाउने चाडका रुपमा लिइन्छ । अझ घरायसी सामग्री जोड्ने उत्सवका रुपमा पनि यी पर्वले ख्याती आर्जन गर्ने गरेका छन् । त्यसमाथि उपभोक्ताको ध्यान तान्न व्यापारीहरुले अनेकौं व्यापारिक आकर्षण ल्याएका हुन्छन् । अझ परिवारका सदस्य नै गएर रोजाईको टेलिभिजन स्क्रिन किन्ने चलन छ । तर आम्दानीको स्रोत घट्दै जाँदा, मोबाइल, ट्याबलेटतर्फ किशोरकिशोरीको ध्यान तानिदा टेलिभिजनको व्यापार घटेको छ ।
दशैँ तिहारलाई छेको पारेर घरघरमा टेलिभिजन किन्नु विशेष प्राथमितकतामा पर्दछ । बजारमा पाइने २४ इन्च देखि ६५ इन्चसम्मका टेलिभिजन सेट ग्राहकको रोजाइमा पर्ने गरेका छन् । यसअघिका मुख्य पर्वमा अरु समय भन्दा ३० देखि ४० प्रतिशत बढी व्यापार यही दशैँ तिहामा हुने गरेको व्यापारीहरुको भनाइ छ । तर यो वर्ष दशैँकै मुखमा न व्यापार शून्य हुँदा व्यापारी चिन्तित छन् । कोरोनाका कारण थलिएको व्यापार अहिले फेरि डेंगुका कारण मारमा परेको व्यापारीको विश्लेषण छ । व्यापारीका अनुसार काठमाडौंको यति ठूलो बजारमा एक दुई थान टेलिभिजन पनि बिक्री हुँदैन । तैपनि २/४ दिनमा ग्राहक आउँछन कि प्रतिक्षामा रहेको व्यवसायी प्रवीणकुमार श्रेष्ठ बताउनुहुन्छ ।
बजारमा अहिले १२ हजारदेखि ३ लाख सम्मका टेलिभिजन बिक्रीमा राखिएका छन् । ग्राहकका रोजाइमा विशेषगरी स्मार्ट टेलिभिजन रहेको छ । सामान्यत दिनमा ४, ५ वटा विक्रि हुने टेलिभिजन दशैँ, तिहारका बेला २० देखि २५ बटासम्म बिक्री हुने गरेकोमा अहिले त बोहनीमै समस्या रहेको व्यवसायी केशव श्रेष्ठ बताउनुहुन्छ ।
मोबाइलमा नै सबै सेवा उपलब्ध हुने भएका कारण पनि टेलिभिजनमा ग्राहकको आर्कषण घटेको व्यवसायीहरु बताउँछन् । अझ बैंकहरुले यस्ता व्यवसायमा नपत्याउने कारण आफूहरु दोहोरो मारमा परेको व्यवसायीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्