१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूरक प्रश्नका लागि जबरालाई शुक्रबार समितिले बोलायो


364
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरुसँग बयान लिएको छ ।

बिहीबार समितिले वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरुसँग बिहीबार बयान लिएको हो ।

बैठकमा आएर अधिवक्ताहरु प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिनुभएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताउनुभयो । उहाँले शुक्रबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्न समेतका लागि बोलाउने निर्णय भएको पनि बताउनुभयो । उहाँले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने बताउनुभयो ।

बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले चोलेन्द्र समशेर जबराविरुद्ध यो महाअभियोगको प्रक्रियाको थालनीको लागि बारले खेलेको भुमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताउनुभयो । उहाँले यो बयानले महाअभियोगको प्रक्रियालाई अझै बल पुगेको महशुस भएको बताउनुभयो । उहाँले समितिले आफूहरुसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताउनुभयो । उहाँले सके यही संसदबाट टुंगो लाग्नुपर्ने र प्रक्रिया नसके महाअभियोगको मुद्दा अर्को संसदले जिम्मेवारी लिनेगरी व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले महाअभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दे तत्कालीन समयमा न्यायका लागि संघर्षमा उत्रिएका कानून व्यवसायीहरुलाई विवादमा तान्न प्रधान्यायाधीश जबराले आफूहरुको नाम लिएको बताउनुभयो । महाअभियोग सिफारिस समितिको अर्को बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ ।