२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीमा राजमार्ग निर्माणसँगै स्थानीय उत्पादनकाे बिक्री गर्न किसानलाई सहज


403
Shares

सिन्धुली । सिन्धुलीमा ३ वटा मुख्य राजमार्ग निर्माण भएसँगै स्थानीय उत्पादनको बिक्री वितरण गर्न किसानलाई सहज भएकाे छ ।

वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी राजमागको निर्माणसँगै सिन्धुलीका ग्रामीण क्षेत्रका स्थानीय उत्पादनले बजार पाउन थालेको हो । राजमार्गको कारणले किसानले उत्पादन गरेका कृषि जन्य पदार्थ बिक्रीका लागि किसान र स्थानीय व्यापारी राजमार्गलाई व्यापारको केन्द्र बनाउन थालेका छन् ।

वीपी राजमार्गको सुनकोशी गाउँपालिकाको वडा बाेहोरेटार, गणेश स्थान, हस्पिटल चोक, वडा नम्बर ६ को चैनपुर रातो डाँडा तथा खाल्टे, गोजन्जोर गाउँपालिकाको खनियाखर्क, खुर्कोट बजार, कमलामाई नगरपालिका र सेल्फी डाँडा लगायतका राजमार्ग नजिकमा यतिबेला कृषकहरुले उत्पादन गरेका फलफूल, तरकारी विशेषगरी मौसमी फल आट, अम्बा र अकबरे खुर्सानी बेच्न राखिएको देखिन्छ ।

सडक निर्माणसँगै राजमार्गमा यात्रुको आवातजावत पनि बढ्दै गएकाले स्थानीय उत्पादन बिक्री गर्न सजिलो भएको किसानहरुले बताएका छन् । राजमार्गका कारण सिन्धुलीमा जुनार, आप, अम्बा, अकबरे खुर्सानी, अकबरे खुर्सानीको अचार, काक्रो, भुइँकटहर, माल्भोग र मर्चमाने केरा लगायतका मौसमी तथा बेमौसमी फलफूल र अर्गानिक तरकारीको उत्पादन स्थानीय किसानहरुले बढाउँदै गएका छन् ।

स्थानीय उत्पादन बिक्रीका लागि राजमार्ग आसपास क्षेत्रका किसान बिक्री गर्न तथा यात्रुहरु स्थानीय उत्पादन किन्न सिन्धुली जिल्लाका प्रमुख राजमार्ग माध्यम बनेको छ । सिन्धुलीमाढी बजार, बनेपा, बर्दिबास राजमार्ग छेउछाउमा स्थानीय उत्पादन विशेषगरी मौसमी फल आप, अम्बा, नास्पाती र अकबरे खुर्सानी बेच्न राखिएको देखिन्छ।

जिल्लाका मुख्य राजमार्गका ठाउँठाउँमा किसान र व्यापारी बिक्रीका लागि अमला, काफल, चुथ्रो र फडिल लगाएतका वनमा फल्ने फलहरु समेत भाग लगाएर हात, हातमा बेच्न थालेका छन् । पछिल्लो समयमा वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग निर्माण भएसँगै सवारी साधनको आवतजावत समेत बढेको छ ।

राजमार्ग र राजमार्गलाई जोड्ने भित्री सडकहरू सञ्चालनमा आउनु अघिसम्म बोटमै खेर जाने मौसमी फलफूलले अहिले आम्दानी दिन थालेको छ । जिल्लामा ठूला राजमार्गको निर्माण र संचालनले तरकारी फलफूलल गायतका स्थानीय उत्पादनहरू बिक्री गर्न पाएपछि स्थानीय बासीन्दालाई जीविकोपार्जन गर्न सहज भएको छ ।