
झापा । भारत, भुटान, बंगलादेश तथा म्यानमारसँग नेपाललाई जोड्ने पूर्वी नेपालको मेची पुलमा सधै मानिसको भीड-भाड हुन्छ ।
रोजगारीका लागि भारतको विभिन्न स्थानमा जाने नेपाली तथा नेपालमा आउने तेस्रो मुलुकका मानिसका कारण भीड हुने यो पुलमा सिटी रिक्सा र पोके व्यापारीका कारण जाम समेत हुने गरेको छ । क्षमता भन्दा बढी रिक्सा चलाउन अनुमति दिनु र पोके तस्करीको सामान भण्डारण गर्ने स्थलको रुपमा मेची पुललाई प्रयोग गर्दा पुलमा हुने जामले यात्रुलाई सास्ती भएको छ ।
भारतको पश्चिम बंगाल राज्यमा पर्ने पानीट्याङ्की, नक्सलवाडी र सिलगुढीमा बजार गर्न जाने नेपालीका कारण मेची पुल सधै खचाखच हुन्छ । अझ पोके व्यापारिका कारण यो पुल बिहान सबेरैदेखि राति अबेरसम्म पनि अस्तव्यस्त रहन्छ ।
यसैपनि चाडबाड नजिकिंदा भारतीय बजारमा किनमेल गर्न जाने नेपालीका कारण मेची पुलमा सधै जाम हुन्छ । त्यसमाथि क्षमता भन्दा बढी रिक्सा चलाउन अनुमति दिनु र पोके तस्करीको सामान भण्डारण गर्ने स्थलको रुपमा मेची पुललाई प्रयोग गर्दा पुलमा हुने जामले यात्रुलाई सास्ती भएको छ।
मेची पुल केही समयदेखि सिटी रिक्सा र पोके व्यापारीहरुको कप्जामा छ । नेपालको काँकरभिट्टाबाट भारतको पानीट्याङ्कीसम्मको झण्डै २ किलोमिटरको दूरी यात्रा गर्न मेची पुलमा दुई पटकसम्म रिक्सा परिवर्तन गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ पैदल यात्रा गर्दा सिटी रिक्साको ठक्करबाट दुर्घटनामा परिने चिन्ता हुन्छ । जम्मा ५ सय ८३ मिटर दूरी रहेको मेची पुल पार गर्न झण्डै १ घण्टा समय लाग्छ ।
एशियन हाइवे अन्तरर्गत मेची पुलको उत्तरतर्फ ६ लेनको नयाँ पुलको निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्यो । तर सर्वसाधारणका लागि त्यो खुल्ला गरिएको छैन् । उक्त नयाँ पुलमा मेची भन्सारमा प्रवेश गर्ने मालवाहक सवारी तथा सरकारी नम्बर प्लेटका सवारी बाहेकलाई सञ्चालन अनुमति दिइएको छैन् ।
उता अस्तव्यस्त पुलमा हुने दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनमा प्रहरीले चासो दिनुपर्ने र नयाँ पुल सर्वसाधारणका लागि सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको जनप्रतिनिधिहरुको भनाइ छ ।
जम्मा २ सय सिटी रिक्साको आवश्यकता र क्षमता रहेको मेचीपुलमा काँकरभिट्टाका ४ सय र भारत तर्फबाट १ हजार भन्दा बढी सिटी रिक्सा सञ्चालनमा छन् । त्यस्तै भारतबाट किराना तथा अन्य वस्तुहरु आयात गर्ने साना व्यापारीहरुले मेची पुलमा सामान डम्पिङ्ग गर्ने र सिटीमा लोड गर्ने गरेका कारण पनि मेची पुल अस्तव्यस्त छ ।
सिटी रिक्साको व्यवस्थापन र व्यपारीहरुसँग समन्वय गरी मेची पुलमा हुने जाम र सम्भावित दुर्घटनालाई हटाउन र नयाँ बनेको ६ लेनको पुललाई पूर्ण सञ्चालनमा ल्याउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्