
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बढ्दै गएको आत्महत्याका घटनाको मुख्य कारण वैदेशिक रोजगार र मदिराको प्रयोग भएको प्रहरीको निष्कर्ष छ ।
वैदेशिक रोजगारका कारण परिवारमा आएको विचलन र मदिराको अधिक प्रयोगका कारण आत्महत्यासम्मको अवस्थामा पुग्ने गरेको प्रहरी अनुसन्धानले दावी गरेको छ । जिल्लामा पछिल्लो पाँच वर्षमा २२९ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । जसमा अधिकांश घटना झुण्डिएर भएका छन् । गएका पाँच आर्थिक वर्षमा भएका घटनामा झुण्डिएर २१० जनाले, विष सेवन गरेर १९ जनाले र हाम फालेर ९ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो ५५ दिनमै आठ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाका अधिकांश युवाहरु वैदेशिक रोजगारमा छन् भने त्यसपछि परिवारमा सुरु हुने गरेको पारिवारिक खटपटले आत्महत्या जस्ता क्षणिक निर्णयको अवस्थामा पुर्याउने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।
हिमाली जिल्ला भएकाले घरेलु मदिराको प्रयोगपछि नशामा रहेका बेला पनि त्यस्ता घटनाहरु हुने गरेको अनुन्धानमा देखिएको उहाँको भनाइ छ । वैदेशिक रोजगारबाट सुरु भएको पारिवारिक विचलनले पनि आत्महत्यालाई बल पुर्याइरहेको छ, यहाँ अधिक मात्रामा मदिराको प्रयोग हुने रहेछ, मदिराको नशामा परेर क्षणिक निर्णय लिनेहरु धेरै छन्, प्रनाउ शाहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्