
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बन्ने गरेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको बिर्तामोडमा शुक्रबार आयोजित जिल्ला अधिवेशनको उद्घाटन गर्नु हुँदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनका लागि कुन कुन दलहरुबीच गठबन्धन हुनु पर्छ, कुन दलले चुनाव जित्नु पर्छ र कसलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने विषयमा विदेशीहरुले योजना बनाई राखेको बताउनुभयो ।
विदेशीहरुलाई खुशी नबनाई नेपालको राजनीतिमा टिक्न सकिदैन भन्ने डरले पनि विदेशीहरुलाई खुशी पार्ने नाममा आत्मासर्मपणवादी प्रवृत्ति देशमा विकासित भएको र नेपाल शक्ति राष्ट्रहरुकाबीचमा रणनीतिक प्रतिस्पर्धाका रुपमा परिणत भएको अध्यक्ष लिङ्देनले बताउनुभयो ।
अध्यक्ष लिङ्देनले मुलुकमा आमूल परिर्वतनको खाँचो रहेको जसका लागि देशको राजनीतिमा परिर्वतन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको आमूल परिर्वतनका लागि युवालाई रानजीतिमा आउन समेत आग्रह गर्नुभयो । देशको राजनीतिमा राम्रो मान्छेको उपस्थिति जरुरी रहेको बताउँदै अध्यक्ष लिङ्देनले भन्नुभयो –‘ जब चुनाव आउँछ तब तपाई बिक्रीको बस्तु सरह युवालाई हेरिन्छ अनि कसरी देश बन्छ ? ’
राप्रपाले आगामी निर्वाचनबाट अकवरी सुनका रुपमा उदय हुने र देशलाई आमूल परिर्वतन गर्ने अग्रिणी पार्टी बन्नेमा शंका नगर्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । आगामी मंसिर ४ मा हुने निर्वाचनमा राप्रपालाई हार्ने छुट नभएकाले गाउँ गाउँमा गएर चुनावी माहोल बनाउन समेत अध्यक्ष लिङ्देनले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्