
काठमाडौं । ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल पक्का गरेको हो । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन ।
साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन् । प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन् । नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन ।
समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ ।
नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ । यसअघिका सबै खेलमा भारतले फाइनलको यात्रा तय गरेको थियो । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।
नेपालले सोमबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्