५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


सुदूरपश्चिममा बूढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै


559
Shares

डडेल्धुरा । सुदूरपश्चिममा प्रत्येक वर्ष असोज संक्रान्ति अर्थात आज शनिबारका दिन बुढी पोल्ने (बन्ढुनी) पर्व धुमधामका साथ मनाईएकाे छ ।

कंशकी बहिनी राक्षसी पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा याे पर्व मनाउने गरिएकाे हाे । प्रत्येक वर्ष भाद्र १ गते गाउँघरका किशोर किशोरीहरुले स–साना काँडे काठ (झिंकडा) काटेर एक ठाउँमा थुपारी स्थापना गरिएको बन्ढुनीलाई पोलेर सांस्कृतिक रुपले पर्व मनाइने भएकाे छ ।

यस पर्वमा गाई वस्तुको हेरचाह गर्ने गोठाला तथा स्थानीयहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला र बाँझ लगायतको लिङगो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहदै आएको छ ।

द्वापर युगमा राक्षसी पुतनाले राजा कंशको आदेशमा भगवान श्री कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लगाएको थियो । भगवान श्री कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मिक किंबदन्ति रहेको छ ।

सुदूरपश्चिमका अधिकांश जिल्लामा सामाजिक-मौलिक पर्वको रुपमा रहेको बन्ढुनी पर्वमा बाँबियो घाँसबाट महिलाको चुल्ठी जस्तै (लुडी) बनाई आकर्षक सेता राता र पहेँला फूल जोडेर सजाउँदै सल्लाको दियालो अथवा झरो तयार गरी मसाल (राँको) बनाएर बुढी पोल्ने प्रचलन समेत रहेकाे छ ।

गोधुली साँझमा मसाल गोठमा लगेर गाई वस्तु वरपर गाई बाच्छीपाल बुढी निकाल भन्दै हरियो काँक्रो खाँदै बन्ढुनी जलाउँदा बालबालिकाहरु ‘गाईबाच्छी पाल ! बूढी निकाल ! थुई बूढी थुई !’ भन्ने समेत गर्छन् ।

बुढी जलाईसकेपछि वारीपारी गाउँका एक-आपसमा लुतो लैजाउ भन्ने हाँसो ठट्टा तथा व्यंग्य गर्ने परम्परा समेत रहेको छ ।