
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ ।
बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग सम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो । म्याग्दीमा संक्रमणको संख्या १३ जना पुगेको र एक जना डेंगु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेको अवस्थामा डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रवक्ता एवै वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभएकाे छ ।
बेनीबजारभित्रका दुवै वडामा आमा समूह, टोल सुधार समिति, नेपाल प्रहरी, यूवा क्लब र विद्यालयका विद्यार्थीसहितको टोलीले शनिबार सरसफाईसहितको अभियानमा जुटेका थिए । स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौंको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखिकरण समेत गरिएको थियो ।
जिल्लामा सबै भन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचक्राई गर्न नहुने र स्वास्थ्य कर्मीसँग परार्मस नगरी औषधि सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माईकिङ समेत गरिएको छ ।
डेंगीको संक्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम वडावडामा पुर्याउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिइकन सफा तथा डेंगुका बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।
डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने र झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्