
काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभएको छ ।
आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने उहाँकाे तर्क छ । उहाँले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको समेत बताउनुभयाे ।
जबराको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने उहाँकाे दावी छ । उहाँले महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेश गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘मलाई के लाग्दछ भने अब फेरी उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन् । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरुको कार्यकाल सकिएको हो । संसद सकिएको होइन् । संसद सकियो भन्ने तर्क गरिंदैछ, त्यो गलत हो । संसद अविछिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले गर्दा संसद सकिंदैन । सांसदहरुको कार्यकाल सकिएको छ । तर कार्यकाल सकिनु भन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडी बढिसक्यो कि उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो । प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेश गरेको छ । अब त्यो आगामी संसदले त्यसलाई प्रष्ट गर्नेछ ।’
उहाँले नेपाल बारले हालसम्म कुनै बिरोधको कार्यक्रम तय नगरेको स्पष्ट पार्नुभयो । निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने बिरोधका कार्यक्रम हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्