१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वालिङमा उद्यमी बनाउन स्टार्टअपका रुपमा नगद अनुदान


130
Shares

स्याङ्जा । रोजगारी गुमाएका र नयाँ व्यावसाय सुरु गर्न चाहने वालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।

रोजगारी गुमाएका तथा आफ्नै व्यावसाय सुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको हो । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ सञ्चालनमा रहेको ‘हरित पुनः उत्थान तथा कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत’ कृषक तथा नव उद्यमीलाई स्टार्टअपका रुपमा नगद अनुदान प्रदान गरिएको हो ।

उद्यमशीलता तथा नवप्रवर्द्धन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा २० जनालाई जनही २५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो । पालिकाले यसअघि पनि आफ्नै व्यावसाय सुरु गर्न चाहने युवा युवतीहरुकालागि स्टार्टअपका रुपमा नगद अनुदान दिदै आएको नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नगरपालिका तपाई‌‌हरुको साथमा छ यहाँहरुलाई सबै खाले सहयोग गर्न हामी तयार छौं।’ नगरप्रमुख खाँणले विभिन्न संघसंस्थासँग सहकार्य गरेर कृषक तथा उद्यमीहरुलाई उद्यम अनुकुल वातावरण बनाउन लागि परेकाे जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता तिवारीले उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले विशेष कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । उद्यमशीलता व्यावसाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ईबीक मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालन गर्न हाम्रो ध्यान रहेको तिवारीले बताउनु भयाे ।