
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले सोमबार अपरान्ह ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने धारणा समेत राख्नुभयो ।
आयोग परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलहरुले आजै सो सूची बुझाउन नसके मंगलबार बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो ।
गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरुले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाउनका लागि आइतबार र सोमबार २ दिनको समय दिएको थियो ।
निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचिमा रहेका नामहरु सच्याउनका लागि पत्राचार गर्ने र १६ गते भित्र सच्याएर ल्याउन समय दिने छ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्ने छ ।
सार्वजनिक भएको ती नामावली अनुसार दलहरुले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरु निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ ।
निर्वाचन ऐन, कानून र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धि सबै कामहरु अघि बढाउन प्रतिवद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्