१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईमेज अवार्डको २२ औं संस्करण सफलतापूर्वक सम्पन्न


325
Shares

काठमाडौं । नेपाली सांगीतिक जगतको महोत्सव इमेज अवार्ड यस वर्ष पनि भव्यतासाथ सम्पन्न भएको छ । इमेज ग्रुप अफ कम्पनीजले विगत २२ वर्षदेखि गर्दै आएको उत्सवलाई समयानुकूल अझ मौलिक र विशिष्ट प्रस्तुतिसहित निरन्तरता दिएको छ । नेपाली संगीत उद्योगको कसी लाग्ने दिनका रुपमा यो उत्सव स्थापित छ ।

इमेज अवार्ड अर्थात सांगीतिक क्षेत्रमा लागेका सर्जकहरुको सम्मानको महोत्सव । कुन श्रष्टाले कस्तो गीत लेखे ? स्रोता, दर्शकको नजरमा कुन श्रष्टाको सिर्जनाले कस्तो ख्याती आर्जन गर्‍यो ? अघिल्लो र पछिल्लो वर्ष संगीत महासागरमा के कस्ता मोतीको उदय भए ? स्रोता, दर्शकको पुस्तान्तरणमा कस्तो परिवर्तन आयो ? यी सबै प्रश्नको एउटै उत्तर हो– ईमेज अवार्ड ।

श्रष्टाहरुको सम्मानमा हरेक बर्ष हुँदै आएको महोत्सव दुई वर्ष कोरोनाका कारण स्थगित गर्नुपर्‍यो । स्थिति सामान्य बनेसंगै २२ औं संस्करणसहित इमेज अवार्ड हाजिर भएको छ । २२ औं संस्करणसम्म पुग्दाका यात्राअनुभवले हामीलाई धेरै पाठ सिकाएका छन् । त्यो समयदेखि यो समयसम्म आउँदा सुनिने संगीत हेरिनेमा परिणत भएको छ ।

इमेज अवार्ड गीतसंगीतको त्यस्तो सरोवर हो– जहाँ उम्दादेखि स्थापित प्रतिभासम्मले आफ्नो योग्यता, क्षमता प्रदर्शन गर्न पाउँछन् । स्रोता, दर्शकको कठघराबाट गुज्रिनुपर्ने भएकाले हरेक स्रष्टाले राजहाँसको अनुभूति गर्ने गरेका छन् ।

इमेज अवार्डमा बिगत बर्षहरुमा झैं यस वर्ष पनि गीत संगीतका क्षेत्रमा अनवरत लागेका हुन् वा भर्खरै पदार्पण गरेका सवैको समान हैसियत रहन्छ । सबल अनि सक्षम श्रष्टा जसले गीत संगीतका माध्यमबाट आफूलाई चिनाउने र जनमानसको जिब्रो र मन मष्तिष्कमा बस्न सफल ब्यक्तित्वको कदर स्वरुप इमेज ग्रुप अफ कम्पनिजले इमेज अवार्डको थालनी गरेको हो ।

लामो यात्रा पार गर्दै आजसम्म आइपुग्ने क्रममा थुप्रै स्रष्टा र सर्जकहरु सम्मानित भइसक्नु भएको छ । २२ औैं इमेज अवार्डमा २०७६ असार १ गतेदेखि २०७९ जेठ मसान्तसम्म सार्वजनिक भएका सृजना मध्येबाट १५ अघिल्ला संस्करणमा १८ बिधा समावेश हुँदै आएको अवार्डमा यो संस्करणदेखि १५ विधा समावेश गरिएको छ । त्यस्तै यो पटक सर्वोत्कृष्ट नेपहप/र्‍याप प्रस्तुति विधा पनि समावेश गरिएको हो ।

इमेज अवार्डको २२ औं संस्करणमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । मनोनयनमा परेका मध्ये एउटा विधालाई पब्लिक च्वाईसका आधारमा अवार्ड प्रदान गरिएको छ । जसका लागि ईमेजखबर डट.कम. मार्फत आएको भोटका आधारमा छनोटमा परेका छन् ।

ईमेज च्यानलको स्थापना नै नेपाली संगीतको श्रीवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले भएको हो । साढे दशकको यात्रामा नेपाली संगीतसंग जोडिएको अविच्छिन्न साइनोलाई ईमेज अवार्डका माध्यमबाट थप प्रगाढ बनाउने महाअभियानमा हामी इमान्दारसाथ लागेका छौं । यो यात्रालाई अनगिन्ती संस्करणसम्म निरन्तरता दिने हाम्रो यात्रामा स्रष्टा, स्रोतादर्शक, विज्ञापनदाता सबै सबैको सहकार्य आवश्यक छ ।