
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको बताएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो ।
हामी निष्कर्षको नजिक पुगेको भन्दै कांग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिब ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया समेत दिनुभयो । चाँडै सहमति गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने पनि बताउनुभयो ।
मन्त्री कार्कीले भन्नुभयो, ‘अब हामी निष्कर्षको नजिकमा पुगेका छौं । र, त्यो निष्कर्षका निमित्त छलफल भईराखेको छ । भोली फेरी ८ बजे बैठक जारी छ । करिव करिव १६५ सिटमा ८० प्रतिशत हामी सहमतीको नजिक पुगेका छौं । र, त्यो चाँडै नै सहमती गरेर यहाँहरुमार्फत् हामी सार्वजनिक गर्छौ ।’
यसैबीच, मन्त्री कार्कीले नागरिकतासम्बन्धि विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘अब राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नु हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, टाईम छ, हेरौं ।’
प्रतिक्रिया दिनुहोस्