
सिन्धुली । सिन्धुलीकाे मरिण गाउँपालिकामा रहेकाे ऐतिहासिक पञ्चकन्या पोखरी सम्बन्धित सरकारी निकायको संरक्षण सम्बर्धनको अभावमा ओझेलमा परिहेको छ ।
मरिण गाउँपालिकाको घाटा गाउँको घना साल जातको जंगलकोबीचमा रहेकाे पञ्चकन्या पोखरी यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक पोखरी रुपमा मानिन्छ । सिन्धुलीमाडीबाट करिब १५ किलोमिटर दूरीको दक्षिण पश्चिम क्षेत्रमा मरिण नदीको किनारामा पर्ने पञ्चकन्या पोखरी हजारौं वर्ष अगाडिदेखि निर्मल र पवित्र जलकुण्ड मानिन्छ ।
हजारौं वर्षदेखि नै एकै खाले निर्मल जल सतह रहेका र घना वन जंगल, जंगली जनावार र पंक्षीहरुको दृश्यले पञ्चकन्या पोखरी पर्यटकीय गन्तव्यका लागि आकर्षर्ण केन्द्र मानिएको छ । किम्बन्दी अनुसार पञ्चकन्या पोखरीमा पाँचवटी देवकन्याहरुको बासस्थान रहेको मानिन्छ । पञ्चकन्या पोखरीको डिलमा रहेको पञ्चकन्या देवीलाई शुद्ध भइ पूजा अर्चना गरी भाकल गरेर मागेको बर पाईने जनविश्वास कायमै रहेको छ ।
विगत ४ दशक अगाडिसम्म मरिण क्षेत्रका बासिन्दाहरुले मर्दा-पर्दा तथा किसानहरुले खेतीपाती लगाउदा पञ्चकन्या पोखरीको डिलमा गएर पुकार गरे माग समेत पूरा हुने गरेको जनाईएको छ । पछिल्लो समयमा पञ्चकन्या पोखरीमा वनभाेज खान र घुम्न आउने मानिसहको संख्या बढेकाे छ ।
तर पोखरीको उचित संरक्षण हुन भने उल्लेखनीय काम हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्