
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को अपमान र अवमूल्यन गरेकाे बताएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको बताएको हो । जारी विज्ञप्तिमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।
राष्ट्रपति भण्डारीको कदमले नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बुबाका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको पनि गठबन्धनले ठहर गरेकाे छ । त्यस्तै संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको पनि गठबन्धनले जनाएको छ ।
राष्ट्रपति भण्डारीले साउन २९ मा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाले हुबहु पास गरेको थियो । गत भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । संविधानको व्यवस्थाअनुसार यो विधेयक मंगलबार रातिसम्म प्रमाणिकरण गरिसक्नुपर्ने थियो । तर राष्ट्रपति भण्डारीले सोही विधेयक प्रमाणिकरण गर्नुभएन् ।

प्रतिक्रिया दिनुहोस्