
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।
समाज कल्याण परिषद्ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको हो । उहाँले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताउनुभयो ।
उहाँले यस्ता, समाजसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको वृहत्तर हीत, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुृखी श्रमसीप र प्रविधिको अत्याधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्