३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


लुक्ला उडान अब मन्थली विमास्थलबाट हुने


0
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको निर्णय अनुसार रामेछाप–लुक्ला उडानको लागि विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणको कार्य भइरहेको छ ।

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन् । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गर्नुभएको छ ।

रामेछाप–लुक्ला नियमित उडानको लागि मन्थली विमानस्थल व्यवस्थित भए नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरिक्षण गर्नुभएको छ । मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चार कर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताउनुभयो ।

उहाँले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुहरुको लागि विमानस्थलमा आवश्वक संरचना निर्माण गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरु बढी विदेशी पर्यटकहरु हुने भएको भन्दै मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले विदेशी तथा स्वदेशी नागरिकहरु विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा सुविधाहरु व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमि हुन नदिने बताउनुभयो । उहाँले मन्थली विमानस्थलमा सर्वसाधरण जनताको लागि नियमित काठमाडौं उडान गर्ने विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै, बिहीवार नै पर्यटन मन्त्री श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र सहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भनेर प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले विमानस्थल बिस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी धावनमार्ग बिस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले वर्तमान सरकारले एउटा जिल्लालाई मात्रै साधन स्रोत बनाउने भन्दा पनि सबै जिल्लामा समानुपातिक स्रोत साधनको विकास गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले अघिल्लो सरकारले सबै स्रोत र साधन झापा जिल्लामा मात्रै लगेको आरोप लगाउनुभयो ।

मन्त्री श्रेष्ठले विमानस्थलमो निरीक्षणपछि विमानस्थलको विस्तार गरी ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग लामो बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने १५÷१६ सय मिटरको धावनमार्ग बनाउनुपर्ने देखिएको बताउनु भयो । मन्त्री श्रष्ठले विमानस्थलको थप सर्वेक्षण गरेर डिटेल रिपोर्ट आउने बित्तिकै प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

उहाँले विमानस्थलको सर्वे सकेसम्म दशैँ अगाडि नभए दशैँपछि लगतै सर्वेको काम गर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले विमानस्थल बिस्तार गरेर नियमित उडानको लागि धेरै समय दाङका जनता निराश हुन नपर्ने बताउनुभयो । उहाँले काठमाडौं पुगेपछि विमानस्थलको बारेमा अर्थमन्त्रीसँग बजेट सुनिश्चिताको लागि कुरा गर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागिएको बताउनुभयो ।

दाङको टरिगाउँ विमानस्थल वि.सं. २०१७ सालदेखि नियमित सञ्चालनमा आए पनि समयमा नै स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन सकेको छैन । त्यहाँका स्थानीयहरुले विमानस्थलको थप बिस्तार गरी विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दै आएका छन् । विमानस्थल नजिकै प्युठानमा स्वर्गद्वारी जस्ता महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रहरु रहेका छन् । तर टरिगाउँ विमानस्थल प्रत्येक निर्वाचन पिच्छे चुनावी एजेण्डा बन्ने तर विमानस्थल अहिलेसम्म विमानस्थल बन्नसकेको छैन ।