
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताउनुभएको छ ।
बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन सम्भव नभएको बताउनुभयो । उहाँले बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री शर्माले जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताउनुभयो । उहाँले अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
अर्थमन्त्री शर्माले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको बताउनुभयो । उहाँले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन शुरु भएको बताउनुभयो । मन्त्री शर्माले समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनुपर्ने भन्दै नाडा समेत तयार हुनुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जाने दाबी गर्नुभयो । अर्थमन्त्री शर्माले अहिलेको नाडा इभी अटो प्रदर्शनी मात्र नभई वर्तमान आवश्यकता भएको बताउनुभयो । उहाँले नेपालको सन्दर्भमा करीव ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेकोे १६८ अर्बको डिजेल आयात भएको जानकारी दिनुभयो ।
मन्त्री शर्माले अब नेपालमा नै विद्युतीय गाडीहरु बनाउनुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले नेपालमा नै विद्युतीय गाडीहरु बनाउने उद्योग चलाए उद्योगको लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा नै एसेम्बल उद्योग स्थापना गर्ने व्यसायीलाई सरकारको नीति तथा कार्यक्रमले सहुलियत दिने स्पष्ट पारेको बताउनुभयो । उहाँले सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको बताउनुभयो । मन्त्री शर्माले चार पाङ्ग्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनुभयो ।
बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्