१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको अवधिमा मानव बेचबिखनको जोखिम बढेको आयोगको निष्कर्ष


39
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको जनाएको छ ।

कोरोनाका कारण मुलुकभित्र बेरोजगारीको समस्या वृद्धि भएको र त्यही कारण मानव बेचबिखनसमेत बढेको आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन, २०७९ मा उल्लेख छ ।

प्रतिवेदनअनुसार कोरोना महामारी व्याप्त आर्थिक २०७६/०७७ र २०७७/०७८ को दुई वर्षको अवधिमा २७० वटा मानव बेचबिखनका उजुरी परेका छन् ।

शहरी क्षेत्रमा दोहरी साँझ, डान्सबार, मसाज सेन्टर, खाजा घर पार्लरजस्ता मनोरञ्जन तथा सत्कार सेवाका क्षेत्रहरुमा विशेषगरी महिला तथा किशोरीहरुप्रति श्रम शोषण, यौन दुव्र्यवहार एवं शोषण, मानसिक उत्पीडनजस्ता कार्यहरु भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, देशभित्र नै बालबालिकाहरु बाध्यकारी श्रम, यौन दुव्र्यवहार तथा शोषणबाट पीडित÷तथा प्रभावित भई मानव बेचविखनको उच्च जोखिम अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ ।

आन्तरिक बेचबिखनको अलावा भारतमा यौन व्यवसाय, श्रमिकको रुपमा, बालबिवाह तथा र चीनमा विवाह, सांस्कृतिक कार्यक्रमको नाममा, सञ्जाल व्यवसायको नाममा, आर्केष्ट्रामा नाच्नका लागी, घुमफिरका नाममा, मनोरञ्जन क्षेत्रमा रोजगार दिलाउने बहानामा समेत बेचबिखन तथा ओसारपसार भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोकाअनुसार आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ गरी दुई आर्थिक वर्षमा देशभर २७० वटा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएका छन् । ती घटनामा परी ३९२ जना व्यक्तिहरु पीडित छन् ।

बेचबिखनमा परेकामध्ये महिला ९५ प्रतिशत छन् भने बालिकाको संख्या ३८.२ प्रतिशत छ । आयोगको प्रतिवेदनअनुसार यो अवधिमा मानव बेचबिखनको क्षेत्रमा क्रियाशील संस्था माइती नेपालले मात्रै सीमा नाकाबाट १० हजार जनालाई उद्धार र निगरानी सेवा प्रदान गरेको छ । त्यही अवधिमा माइती नेपालले ८ हजार जनालाई पुनस्र्थापना गृहसम्बन्धी सेवा प्रदान गरेको छ ।