
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने बताउनुभयो ।
बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताउनुभयो ।
उहाँका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् ।
अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भन्नुभयो । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्