
सिन्धुली । सिन्धुलीका पहाडी क्षेत्रमा दशैंका लागि चिउरा बनाउने धान पाकेर झुल्न थालेपछि किसान खुशी भएका छन् ।
ताजा धानबाट उत्पादन गरिएकाे चिउरा राम्रो र स्वादिष्ट हुने किसानहरुले बताएका हुन् । सिन्धुलीमा यसपाली धान रोप्ने समयमा पर्याप्त मौसमी वर्षा भएका कारण विगतका वर्षको तुलनामा धानको उत्पादनमा राम्रो भएको जनाइएकाे छ । सिन्धुलीकाे खेती योग्य जमिनको कुल क्षेत्रफल ५४ हजार ८ सय ९ हेक्टर क्षेत्रफल मध्धे यस वर्ष बाह्रै महिना सिंचित हुने १४ हजार ९ सय २ र आंशिक रुपमा सिंचित ५ हजार ८ सय ७२ हेक्टर क्षेत्रफलमा व्यवस्थित रुपमा धान खेती गरिएको छ ।
सिन्धुलीमा लगाईएको सावित्री रामबिलास, मकवानपुर–१, खुमल र हाईब्रिड जातको लोकनाथ गरी आधा दर्जन भन्दा बढी आधुनिक जातका धान बालीहरु राम्रो उत्पादन भएको छ । सिन्धुलीका पहाडी भू–भागहरुमा भने परम्परागत रुपमा ताइचिनीया, मार्सी, कालोधान र लोकल बासमती धान समेत केही मात्रामा लगाइएको छ । धान खेतीका लागि गरम जलवायु नै उतम भएकाले सिन्धुली जिल्लाको कमलाखोंच, मरिणखोला र चदाहा लगायकाका फांटहरुमा यसपाली धान बाली सोह्रै आना उत्पादन भएको छ ।
सिन्धुलीमा प्रतिहेक्टर ३ मेट्रिकटन धान उत्पादन हुने भएकाे छ । यसवर्ष सिन्धुलीमा कुल १ लाख ८६ हजार ९ सय २८ मेट्रिकटन धान बाली उत्पादन हुने लक्ष्य राखिएको छ । सिन्धुलीमा दोश्रो प्रमुख खाध्य बालीमा पर्ने धान बालीले जिल्लामा कुल ५० प्रतिशत खाध्यान्न पूर्ति गर्ने गरेको छ । १० वर्ष अघि सिन्धुलीबाट प्रति वर्ष २० हजार मेट्रिकटन धान जिल्ला बाहिर जाने गर्दथ्यो ।
प्रतिक्रिया दिनुहोस्