८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक


481
Shares

काठमाडौं । सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेता तथा कार्यदलका सदस्यको सहभागिता रहेको बताइएको छ । यसअघि सिट बाँडफाँटमा हिजो दिनभर छलफल भएपनि सहमति जुटन सकेको थिएन । साँझसम्म सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरु उठेका थिए।

सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरु आज फेरि छलफलमा बसेका हुन् । गठबन्धनका नेताहरुले प्रतिनिधि सभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन्।

प्रदेश सभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरुको छ । तर, मधेसका केही प्रमुख निर्वाचन क्षेत्र र पहाडी क्षेत्रका पनि केही जिल्लामा कुरा मिल्न नसकेको बताइएको छ ।

मधेस प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच कुरा मिल्न सकेको छैन । यस्तै, पहाडी क्षेत्रका केही सिटमा कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका आ–आफ्नै दाबी छन् ।