
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्तारुढ पाँच दलीय गठनन्धन निरन्तर सिट बाँडफाँटकाे प्रयासमा लागे पनि निष्कर्षमा पुग्न भने सकेको छैन् ।
सिट बाँडफाँटका लागि गठन गरिएको ११ सदस्सीय कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुलाई जिम्मा दिइएको हाे । सिट बाँडफाँटको लागि शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेपनि टुंगो लगाउन सकेका छैनन् । निरन्तर छलफलमा सहभागि नेताहरु १० प्रतिशतमात्र सहमति जुटाउन बाँकी रहेको दावी गर्दै आएका छन् । तर गठबन्धनलाई सिट बाँडफाँट यति जटिल भइरहेको छ कि कतिपय निर्वाचन क्षेत्रमा गठबन्धन नै धरापमा पर्न सक्ने देखिएकाे छ ।
अघिल्लो निर्वाचनमा जुन पार्टीले जितेको हो । सोही क्षेत्र उसैलाई छाडिदिने गठबन्धनमा सहमति भएपनि यहि मापदण्डले कतिपय निर्वाचन क्षेत्रको बाँडफाँट जटिल देखिएको छ । अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएको थियो । सापकोटासँग कांग्रेस नेता मोहन बस्नेत पराजित हुनुभएको थियो । सापकोटा यसपटक पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरिरहनुभएको छ ।
तर कांग्रेस नेता बस्नेत यो पटक पनि सिन्धुपाल्चोक १ बाटै निर्वाचन लड्ने अड्डी कसिरहनुभएको छ । पार्टीले टिकट नदिए विद्रोह गर्ने चेतावनी बस्नेतले केन्द्रीय समिति बैठकमै दिइसक्नुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका सचिव राम कार्की दुवैको दावी छ । अघिल्लो निर्वाचनमा कार्कीले शर्मालाई पराजित गर्नुभएको थियो ।
कार्की यसपटक सोही क्षेत्रबाट लड्ने तयारी गरिरहँदा महामन्त्री शर्मा पनि झापा १ नछोड्ने अडान राखिरहनुभएको छ । यद्यपि माओवादीका नेताहरु यो क्षेत्र महामन्त्री विश्वप्रकाशलाई छाडिदिन तयार देखिएका बताइएको छ । अघिल्लो निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार भवानी खापुङले जितेको तेह्रथुममा यसपटक नेपाली कांग्रेसले सशक्त दावी गरिरहेको छ ।
अघिल्लो निर्वाचनमा जित हासिल गरेकाले एकीकृत समाजवादीले काठमाडौ क्षेत्र नम्बर २ छोड्न मानेको छैन् । तर उक्त क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको बलियो दावी छ । अघिल्लो निर्वाचनमा एमालेले जितेको धनकुटामा गठबन्धनका ३ दल नेपाली कांग्रेसका सुनिल थापा, जनता समाजवादीका रकम चेम्जोङ र माओवादी केन्द्रका हेमराज भण्डारीको बलियो दावी छ ।
तीनै दल एक-अर्कालाई छोड्न तयार नदेखिएपछि धनकुटामा गठबन्धन भत्किने सम्भावना छ । गोरखा क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी केन्द्र (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीकै चिन्ह लिएर निर्वाचन लड्ने तयारी गरिरहनुभएको छ । तर उक्त क्षेत्रमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि दावी छ ।
यहाँ माओवादी र नेसपाबीच प्रतिस्पर्धा देखिदा नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे पनि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरिरहनुभएको छ । गठबन्धनका शीर्ष नेतामध्येकी एक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको निर्वाचन क्षेत्र प्युठानमा कांग्रेसले पनि दावी गरिरहेको छ । अर्कोतिर माओवादी केन्द्रको निर्वाचन चिन्ह लिएर निर्वाचन लड्ने तयारीमा रहनुभएका वामदेव गौतमले पनि प्युठानमा दावी गरिरहनुभएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा पनि गठबन्धनबीच रस्साकस्सी चलिरहेको छ । यसअघि निर्वाचन क्षेत्र नम्बर ४ माओवादीका अमनलाल मोदी, ५ मा शिवकुमार मण्डलले जितेको क्षेत्रमा कांग्रेस र जसपाले दावी गरिरहेका छन् । सोलुखुम्बुमा माओवादी केन्द्र र कांग्रेस दुवै दलको दावी छ । यसअघिको निर्वाचनमा जितेकोले माओवादीले आफैंले पाउनुपर्ने अडान लिएको छ ।
कांग्रेस भने यसपटक गठबन्धनमा भएकोले मिलाउनुपर्ने र सोलुखुम्बु छोड्नुपर्ने अडानमा छ । त्यस्तै, धादिङ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर १ मा पनि गठबन्धनका एक भन्दा बढी दलहरुको सशक्त दावी देखिएकाले छ । त्यस्तै, मधेश प्रदेशमा पनि गठबन्धनबीच सिट बाँडफाँटमा जटिलता देखिएको छ ।
प्रतिनिधिसभाका १ सय ६५ मध्ये यी लगायत कतिपय निर्वाचन क्षेत्रमा गठबन्धन टुट्ने खतरा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्