
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-७ मा कृषि तथा तरकारी उत्पादनका लागि उपयुक्त हावापानी रहेको मझुवा गाउँमा सिंचाई सुविधाको अभाव देखिएको छ ।
सिन्धुलीमाडीबाट २२ किलोमिटर दूरीमा रहेतापनि सिंचाई सुविधाको अभावले कृषि उत्पादन र पर्याप्त तरकारी उत्पादनका लागि समस्या परेको स्थानीय किसान विष्णुबहादुर भण्डारीले बताउनुभएकाे हाे । महाभारत पहाडको उत्तरतर्फको काखमा रहेकाे मझुवा गाउँ समुद्री सतहबाट १ हजार मिटरको उच्चाईमा रहेको छ । मध्यम चिसो जलवायु भएको सोही गाउँ कृषि पेशाका लागि अत्यन्त उपयुक्त समेत मानिन्छ ।
समथर तथा रमणीय मझुवा गाउँमा विगत लामो समयदेखि सिंचाई सुविधा हुन नसक्दा कृषिजन्य उत्पादनहरुमा कमी आएको छ । सरकारी सम्बन्धित निकाय सिंचाई कार्यालय, सुनकोशी गाउँपालिका लगायतका सरकारी निकायले मझुवा गाउँको समग्र विकासका लागि सिंचाई सुविधा पुर्याउन सके अत्यधिक रुपमा तरकारी तथा फलफूल समेत उत्पादन हुन सक्ने देखिएको छ ।
सुन्तला-जुनार र कागती उत्पादनका लागि अत्यन्त उपयूक्त मानिएको मझुवा गाउँमा हिउँदे र वर्षे सिंचाई सुविधा प्राप्त भए धान गहुँ मकै जस्ता अन्नबालीहरु समेत प्रशस्त रुपमा उत्पादन हुने स्थानीय बासीन्दाहरुले बताएका हुन् ।
मझुवा गाउँकाे वरपर वन जंगलहरु समेत पर्याप्त भएकाले पशुपालनका लागि समेत उपयुक्त मानिन्छ । तर सिंचाईको सुविधाबाट भने वञ्चित भएकाे र सरकारी निकायको उपेक्षमा परेको सोही गाउँका किसानहरुले बताउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्