२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीका किसानकाे तरकारी खेतीबाट वार्षिक ८ लाख आम्दानी


299
Shares

म्याग्दी । विदेशमा पसिना बगाएर पनि राम्रो कमाइ गर्न नसकेर स्वदेशमा फर्किएर तरकारी खेती गर्न लागेका हरिलाल घिमिरेकाे जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बन्चरे ढुङ्गाका ५१ वर्षीय घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बितेकाे थियाे । ३ दशकअघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाउनुभएका घिमिरेले १० वर्ष साउदी अरब र ५ वर्ष भारतमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभएकाे थियाे ।

घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थालेकाे हाे । उहाँ जस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुशीको प्राप्त गर्न सफल भएका छन् ।

गाउँकै माटोमा तरकारी, फलफूल र पशुपंक्षीपालन मार्फत खुशी र समृद्धि आर्जन गरेका घिमिरे दाजु-भाइ मात्र होइनन्, जिल्लामा कैयौं युवाहरु रहेका छन् । रहरले होओस् वा बाध्यताले नेपालीहरू पैसा कमाउनका लागि दैनिक सयौं युवा विदेशी भूमिमा जाने गर्दछन् । अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् ।

तर पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्किनेको पनि लर्को नै लागेकाे छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई विट मारेर स्वदेश फर्केका रोहोटेका ४८ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् ।

सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि हिम्मत नहारेकाे घिमिरेले बताउनुभएकाे छ । कतिले आफूलाई विदेशमा त कमाउन नसकेको मान्छेले माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए समेत उहाँले गुनासाे गर्नुभयाे । तर पनि आफ्नो काममा लागिरहेकाे उहाँले बताउनुभयाे ।

विसं २०६६ सालदेखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले ८ रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी र बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएकाे छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक ८ लाख भन्दा बढी कमाइ हुने गरेको समेत उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे,-‘यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ । उमेर ढल्केपछि मलाई चेत आयो । तर मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ । पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।’

अहिले घिमिरेको खेत बारीमा गोलभेंडा, काँक्रो र करेला लटरम्मै फलेका छन् । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि समेत छाएको छ । २ जना छोरा, श्रीमती र आफू गरी परिवारका ४ जना सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री वितरण समेत गर्दै आएका छन् ।