Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा


39
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ ।

अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उहाँले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित समारोहमा कार्यव्यस्तताका कारण भौतिकरूपमा उपस्थित हुन नसकी लिखित शुभकामना प्रेषित गर्नुभएका उहाँले समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोचसहितका सार्वजनिक नीतितर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

आगामी दिनमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिँदै उहाँले प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि नेपाल सरकारले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले आगामी दिनमा देशको आवश्यकता र यथार्थलाई मध्यनजर गरी मुलुकको विकासमा रूपान्तरणकारी परिवर्तन ल्याउनसक्ने नीति तर्जुमा गर्न तथा समयसयममा विभिन्न महत्वपूर्ण विषयमा सरकारलाई मार्गनिर्देश दिने किसिमका नीतिगत पृष्ठपोषण प्रदान गर्न सकोस् भन्दै प्रतिष्ठानको प्रगतिको कामना गर्नुभएको छ ।