२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौं : मन्त्री खापुङ


39
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा सोमबार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताउनुभयो ।

सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई रु एक लाखका दरले वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमामा सबैलाई आवद्ध गराउने गरी काम भइरहेको भन्दै उहाँले अस्पतालको भुक्तानी पाउन बाँकी रकममा छिटो भुक्तानीका लागि आफूहरु तातो लगाइरहेको बताउनुभयो ।

सरकार क्यान्सर पत्ता लगाउने पेट स्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा रहेको भन्दै मन्त्री खापुङले बताउनुभयो ।

यो क्यान्सर अस्पताल देशकै महत्वपूर्ण भएको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर अस्पतालमा अन्य अस्पताललाई जोडेर प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाता ऐन बनाएर प्रतिष्ठान बनाउनुपर्छ ।’ क्यान्सर रोग लाग्न नदिन जनचेतनाका काममा जोड दिनुपर्ने भन्दै उहाँले यसै अस्पतालमा पेट स्क्यान मेसिन ल्याउनु पर्नेमा जोड दिनुभयो ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेर अनुभव संगाल्नुभएका श्रेष्ठले भन्नुभयो, ‘क्यान्सरका ६० प्रतिशत बिरामी यही उपचारका लागि आउँछ, त्यसैले पेट स्क्यान यही राख्नुपर्छ ।’ सो अवसरमा अस्पतालमा कुरुवा घर निर्माणमा आर्थिक सहयोग गर्ने भीम पाठक र अस्पतालका सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।