
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेलले २ वर्षदेखि निगालाेकाे चोयाका पोशाक बनाएर लगाएर मेला पर्वमा गएर जीविकोपार्जन गर्दै आउनुभएको छ ।
जंगलबाट निगालो ल्याएर त्यसबाट चोया निकालेर उहाँले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला र मनिव्याग लगायतका पोशाकहरु चोयाँबाट नै बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहर बजारमा पुग्ने गर्नुहुन्छ। आधुनिक युगमा पनि पर्तेलले चोयाका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गरेका छन् । कतिले उहाँको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहित पनि गर्ने गरेका छन् ।
शाेखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् । उहाँले भन्नुभयाे,- ‘मेरो आम्दानीको श्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु । यही पोशाक लगाएर म हिड्ने गर्छु । यसबाट हुने आम्दानीले नै मेरो गुजारा चलेको छ ।’
उहाँकाे घरमा ४ जना छोरा, एक जना छोरी र श्रीमती रहेका छन् । उहाँ छोराहरु भने अलग भएर बसेका छन् भने छोरी विवाह गरेर गएकी छन् । अहिले घरमा श्रीमान र श्रीमती मात्र भएकाे उहाँले बताउनुभयाे । बिहान उठेर नजिकको जंगलमा गई निगालो ल्याउने, चोया बनाउने र चोयाका पोशाक तथा कृषि सामाग्रीहरु बुनेर दिन बिताउने गर्नुभएका पर्तेलले चोयाका पोशाकहरु बेचेर २ वर्षमा १ लाख ७० हजार भन्दा बढी आम्दानी गरेको बताउनुभयो ।
त्यसका अतिरिक्त चोयाका पोशाक लगाएर गाउँघर र शहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खुशी भइ पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी ६० हजार भन्दा बढी कमाएको समेत उहाँले बताउनुभयो । हिजो आज गाउँघरका युवायुवतीहरुले पर्तेलले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र कपडा लगाए बापत १ सय रुपैयाँ पर्तेललाई दिने गरेका छन् ।
उहाँले भन्नुभयाे,-‘अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोबाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।’ शनिबार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरु प्रदर्शन गरेर नै पर्तेलले ३ हजार बढी आम्दानी गर्नुभयो । उहाँको सिपको सम्मान गर्नुपर्ने र उहाँलाई प्रोत्साहित गरेर यस्तो कलाको प्रवर्द्धन गर्न जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुनले बताउनुभयो ।
पर्तेलले पोशाकका अतिरिक्त चोयाबाट डोका, नाम्ला, भकारी र थुन्से लगायतका घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गर्नुभएको छ । यस्ता कृषि सामाग्रीहरु गाउँघरमा फाट्टफुट्ट बिक्री हुने गरेपनि यो पेशा व्यवसायिक नभएकाले उहाँले पोशाक बनाएर प्रर्दशन तथा बिक्री वितरण गर्न थालेको बताउनुभयो । आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल समेत गर्ने आफ्नो चाहना भएको पर्तेलले बताउनुभयो।
चोयाका पोशाक बनाउन सजिलो नभएकाे उहाँले बताउनुभयाे । उहाँले यस पेशामा निकै मेहनत गर्नुपर्ने उहाँले बताउनुभयाे । स्थानीय सरकार वा सम्बन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामग्रीहरु बनाउन सक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्