
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले व्याजदर बढाएर उद्योगी, व्यवसायीलाई ठगी गरेको बताउनुभएको छ ।
मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंले गरेको यससम्बन्धी छलफलमा उपाध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले व्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले चर्को ब्याज लिइरहेकोप्रति पनि आपत्ति जनाउनुभयो ।
बैंकहरुले आफैं ब्याज बढी दिने र आधार दर बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गर्नु उचित नभएको श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले नै बैंकहरुलाई मनलाग्दी ब्याज बढाउन छुट दिएको आरोप लगाउनुभयो ।
यस्तै, महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंकहरुको मर्जरको औचित्यबारे प्रश्न उठाउनुभयो । उहाँले खुला बजार अर्थतन्त्र लागू हुँदै गर्दा धमाधम बैंकको लाइसेन्स बाँडिएको र अहिले बैंकको सख्या घटाउँदै किन मर्ज गर्न लागेको ? भन्दै प्रश्न गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले मर्ज गराएर राष्ट्र बैंकले बैंकिङ प्रणालीलाई संकुचित बनाउन खोजेको अरोप लगाउनुभयो । उहाँले बैंकहरुको मर्जर नीतिमाथि राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । उहाँले अहिले व्यवसायीहरुको दशैँको अवस्थामा पनि ८० प्रतिशत व्यापार कम भएको बताउनुभयो ।
बैंकहरु मर्जमा जाँदा एकाधिकार प्रकृतिको बजार श्रृजना उत्पन्न भएको भन्दै संघले यसबारे गम्भीर विश्लेषण गर्नु जरुरी रहेको बताएको छ । संघले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाउदै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्तीमा जाँदा एकाधिकार प्रकृतिको बजार श्रृजना भएको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्