
म्याग्दी । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्तिहरु पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अंग मानिने चौतारी संरक्षणमा जुटेका छन् ।
लेक–बेसी, गाउँ–शहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो, गर्मीमा दौतरीहरु बसेर शितल हावा लिदै गफ गर्ने र आनन्दलिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधिहरु यस्ता सम्पदाहरुको संरक्षणमा जुटेका हुन् ।म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोट, बेनी नगरपालिका-७ बेनी, बेनपा-६, मालिका-२ बेली, मालिका-३ रुम, मंगला गाउँपालिकाको अर्मन, अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा चौतारी संरक्षण अभियान नै संचालन भएको छ ।
गाउँघरमा मोटरबाटो लैजाने होडका कारण ग्रामीण जीवनको मौलिकता र त्यसबाट प्राप्त आनन्द दुवै हराउँदै गएपछि समुदाय नै चौतारी पोखरीको संरक्षण र नयाँ निर्माणमा लागे पछि अहिले यहाँका कैयौं गाउँमा नयाँ चौतारी निर्माण गरिनुका साथै बर र पिपल समेत लगाइएको छ । भरियाको भारी बिसाउने ठाउँ, बटुवाको थकान बिर्साउने ठाउँ, युवा युवतीको माया प्रेम दर्शाउने ठाउँ, पाका व्यक्तिहरु सुस्ताउने ठाउँ, गोठाला र फुर्सदिला व्यक्तिहरु भेला भएर बागचाल खेलेर दिन बिताउने ठाउँ म्याग्दीको चौतारी हो ।
आध्यात्मिक दर्शनमा धर्ममार्गको खुड्किलो मानिएका चौतारीहरु मानिसको भौतिक र दैनिक जीवनमा समेत अत्यन्त महत्वपूर्ण थलोकाे रुपमा मानिन्छ । तर विकासका नाममा मोटर बाटो खन्ने होडवाजी सुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा मासिंदै गएका थिए । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरु बिर्सिदै जान थालिएको अवस्थामा पुनः चौतारी संरक्षण अभियान सुरु भएपछि ग्रामीण क्षेत्रको सौन्दर्य मुस्कुराउन थालेको छ ।
मानिसहरु हिड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने म्याग्दीका वातावरण संरक्षणकर्मी एवं वन डिभिजन कार्यालय म्याग्दीका निप्रमुख चन्द्रमणी सापकोटाले बताउनुभयो । त्यसैगरी पं धर्मप्रसाद उपाध्यायले ४ कुना मिलाएर बनाइएको चौतारीमा बर र पिपलसँगै नजिकै रोपिने बताउनुभयाे। उहाँले बर-पिपलकोबीचबाट हिड्न नमिलेर दाहिने पारेर हिंड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो, आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा र परम्परागत चौतारोकोे विशेषता भएको उहाँले बताउनुभएकाे हाे ।
म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले चौतारी संरक्षण र निर्माणका लागि गत आर्थिक वर्षमा वडा कार्यालयबाट करिब ५ लाख बजेट नै विनियोजन गरेर वडाका १४ ठाउँमा चौतारी मर्मत र निर्माण गर्नुका साथै पोखरी खन्ने र बर-पिपल लगाउने काम सम्पन्न भएको जानकारी दिनुभयो । त्यसैगरी बेनी नगरपालिका-७ का वडा अध्यक्ष रमेश श्रेष्ठले बेनी बजारका विभिन्न ठाउँमा रहेका ऐतिहासिक चौतारीको पुन: निर्माण गरेर चिटिक्क बनाउनुभएको छ ।
जनप्रतिनिधि नै यस्तो प्राचीन सम्पदाको संरक्षणमा लागेपछि समुदाय पनि होस्टेमा हैसे गर्दै प्राकृतिक सम्पदाहरुको संरक्षणमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्