
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ ।
भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् ।
नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले विभिन्न बहानामा पैसा ठग्ने र दुःख दिँदा पनि स्थानीय प्रशासन मौन रहेको यात्रुको गुनासो छ ।
प्युठानका बिजुवारका मनोज जिसीले भारतमा काम गरेर आएका नेपालीसँग आफ्नै दाजुभाईले पैसा माग्दा दुःख लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कृष्णनगरमा रहेको टुर एण्ड ट्राभल्सहरूले सुरक्षित साथ घर सम्म पुर्याइ दिन्छ । बोर्डरमा पनि केहि हुन्न । भन्दै बढी पैसा लिने र बोर्डरमा पुगे पछि आफ्नो आफ्नो सामानहरू चेकजाँच गराउन जानू भन्छन । सुरक्षाकर्मी र ट्राभल्सहरू मिलेरै दिनहुँ नेपाल फर्किने नेपालीहरूलाई विभिन्न बहानामा पैसा ठग्ने, दुःख दिने गर्दै आएका छन् ।’
बिगत वर्षहरुमा चाडपर्वमा नेपालीहरु लुटिने, ठगिने गुनासोसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले हेल्प डेक्स तथा भारतीय अधिकारी सँग समन्वय गरि दशैं मनाउन फर्किने नेपालीहरूलाई सहज हुने गर्दथ्यो । तर अहिले यसबारे प्रशासनले चासो देखाएको छैन् । नेपाल प्रहरीले सिमा नाकामा नागरिक सहायता कक्ष नराखेको र सशस्त्र प्रहरी बल कृष्णनगरले राखे पनि नागरिकलाई आवागमनमा असहज भएको छ ।
कृष्णनगर नाका भएर आउने यात्रुले अहिले सात ठाँउमा चेकजाँच गराउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्