
ओखलढुंगा । यसवर्षको दशैं सुरु भएसँगै ओखलढुंगा सदरमुकाममा चहलपहल बढेको छ । सदरमुकाम क्षेत्रका पसलहरुमा किनमेल गर्ने ग्राहकको भीड लागेको हो ।
विशेषगरी कपडा पसलमा किनमेल गर्ने ग्राहकको संख्या अत्यधिक रहेको छ । दशैंमा नयाँ कपडा लगाउने चलनका कारण ग्राहकको संख्या बढेकाले अन्य सिजनभन्दा दशैंको सिजनमा व्यवसायीको कारोबार बढी हुने भएकाले उनीहरु व्यस्त रहेको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो ।
कोरोना महामारी, तरलता अभावलगायतका कारण खस्किएको व्यवसायलाई दशैंको चहलपहलले राहत मिलेको व्यवसायीहरुको भनाइ छ ।
यस्तै, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ को खानी भञ्ज्याङमा व्यवस्थित पशु बधशाला निर्माण भएको छ । १५ लाख रुपैयाँको लागतमा पशु बधशाला निर्माण भएको हो । बुधबारे हाटनजिकै निर्माण भएको बधशाला प्रदेश– १ सरकारमार्फत चिशंखुगढी गाउँपालिकाले निर्माण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्