
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा विगतमा सबै खालका क्रान्ति भएको भन्दै अब कृषि क्रान्तिमार्फत आर्थिक क्रान्तिको आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष गोल्यानले नेपालमा विभिन्न क्रान्तिमार्फत गणतन्त्र ल्याएपनि आर्थिक क्रान्ति हुन नसकेको दाबी गर्नुभयो । उहाँले आर्थिक विकास गर्ने विषयमा पनि नेपालमा राजनीतिक हुने भएको भन्दै कृषि, पर्यटन मार्फत क्रान्त्रिका भाषण गरेर नेताहरुले भोटको राजनीति गरेको बताउनुभयो । उहाँले अब भोटको राजनीति नभएर किसानहरुलाई कृषि उत्पादनमा जोड दिएर आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिदेखि आम जनतालाई आर्थिक क्रान्तिसँग जोड्ने दायित्व मिडियाको रहेको बताउनुभयो । उहाँले स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ठूलो आवश्यकता रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तलव वितरण गर्नका लागि समेत बैंकबाट पैसा नपाएको गुनासो गर्नुभयो । उहाँले आफूले कर्मचारीको तलव खुवाउनका लागि ४० लाख रुपैयाँ निकाल्न खोज्दा उपत्यकाका तीन वटै जिल्लामा रहेका बैंकमा पैसा नपाएको दाबी गर्नुभयो । उहाँले बजारमा तरलताको चरम अभाव भएको अवस्थामा बैंकहरुले ब्याजदर बढेको भन्दै ब्याजदर वृद्धिले उद्योग व्यवसाय गर्ने वातावरण नभएको बताउनुभयो । अध्यक्ष मल्लले पछिल्लो समय ब्याजदरमा भएको वृद्धिले निजी क्षेत्र मर्कामा परेको भन्दै सरकारले ब्याजदर वृद्धिलाई तत्काल व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । मल्ले सरकारले निजी क्षेत्रमैत्री नीति नियमहरु बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकिङ प्रणाली देखिएको असहज अवस्थालाई थप सहज गराउन राष्ट्रकसँग माग गर्नुभयो । बुधवार नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्