१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फुटपाथ पसलमा उपभोक्ताको आकर्षण


338
Shares

काठमाडौं । दशैँ सुरु भएसँगै बजारमा उपभोक्ताको चहलपहल बढेको छ । दशैँ, तिहारजस्ता पर्वमा नयाँ लाउने र मीठो खाने मनोविज्ञानले धेरैको मनमा घर गरेको पाइन्छ । त्यसैले त दशैँ संस्कृति मात्र हैन, रहरको पनि चाड बन्ने गरेको छ ।

दशैँ सुरु भएसँगै हिङदेखि बेसारसम्मको किनबेच हुने काठमाडौंको व्यस्त बजार असनमा भिडभाड बढेको छ । अरुबेला सामान्य अवस्थामा चहलपहल हुने असन बजार चाडपर्वमा अझ बढी भीडभाड हुने गर्दछ । असन सबै खाले उपभोक्ताको केन्द्र भएपनि लुगाफाटा किन्ने उपभोक्ताको बढी भीडभाड देखिन्छ ।

असन बजारमा काठमाडौं महानगरपालिकाले व्यवस्थित गर्ने भन्दै फुटपाथ पसल हटाएको भएपनि अहिले दशैँको नाममा जताततै फुटपाथ पसल फस्टाएको छ । सटरमा राखिएको पसलमा भन्दा पनि बढी फुटपाथ पसलमा सामान किनवेच गर्ने बाक्लै देखिन्छ । असन प्रतिस्पर्धी बजार भएकाले पनि उपभोक्ताको ध्यान तानिने गर्छ ।

तैपनि विगतको तुलनामा असनमा उपभोक्ताको चहलपहल घटेको महसूस गर्न सकिन्छ । पाईला टेक्न पनि कठिन हुने असन बजारमा यो पटक सामान किन्न केही सहज छ । महंगीले धेरै उपभोक्ताको क्रय शक्ति हराउँदै गएको छ । अझ घरलौरी सदस्य विदेशमा भएका कारण उताबाट सामान आउने भएका कारण पनि यहाँको बजारमा भर पर्ने कमी हुँदै गएको छ । अर्को वर्ग छ जो डेंगु प्रकोपका कारण भीडभाडमा जान डराउँछ । यसले पनि बजारको भीड कम देखिएको हो ।

गत वर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी लुगाफाटामा महंगी बढेको पाइएको छ । दशैँमा प्रायजसोले पर्वका नाममा नयाँ लुगा किन्ने भएकोले पनि दशैँमा कालाबजारी बढेको हो । विगतका वर्षहरुको तुलनामा यो वर्षको दशैँको व्यापार निकै घटेको व्यापारीहरुको गुनासो छ ।