
सिन्धुली । सिन्धुलीमा स्थानीय महिलाहरुले कपडा सिलाउने पेशामा आवद्ध भएर स्वरोजगार भएर पर्याप्त आर्थिक आयआर्जन गर्न सक्षम भएका छन् ।
सिन्धुलीकाे जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न तालिम केन्द्रबाट सिलाई कटाईको तालिम पाएपछि बेरोजगार भएका स्थानीय महिलाहरु स्वरोजगार भएका हुन् । सिन्धुलीमाडीमा यसरी तालिम प्राप्त महिलाहरुले संचालन गरेका सिलाई कटाई केन्द्रहरुमा अहिले महिलाहरुलाई काम गर्नकाे भ्याईनभ्याई भएकाे छ ।
उनीहरुले महिलाहरुले लगाउने विभिन्न डिजाइनका चोली, व्लाउजहरु, कुर्था–सुरुवाल र पेटिकोट लगायतका पुरुषहरुका पोशाकहरु समेत बनाउदै आएका छन् । सिलाई कटाई पेशामा संलग्न तालिम प्राप्त महिलाहरुले मासिक रुपमा ४० हजारदेखि ८० हजारसम्म कमाउने गरेको बताएका छन् ।
सिलाई कटाईबाट कमाएको रुपैयाँले घर खर्च र छोराछोरीको पठनपाठनको लागि खर्च जुटाउन सघाउ पुगेको महिला सिलाई कटाई व्यवसाय गर्ने अम्बिका क्षेत्रीले बताउनुभयाे । सिन्धुलीको जिल्ला घरेलु तथा साना उधोग विकास समिति, तालिम केन्द्र र संघ सस्थाहरुबाट समय समयमा गरी करिब १५ हजारको संख्याका महिलाहरुले सिलाई कटाईको तालिम प्राप्त गरिसकेको एक तथ्यांकले देखाएको छ ।
सिलाई कटाईको तालिम लिएका महिलाहरुले सिन्धुलीमाडी र ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो व्यवसाय संचालन राम्रो गरेर आयआर्जन गरिरहेका छन् । खेतीपाती र अन्य पेशाको तुलनामा घर पसलभित्रै बसेर गरिने पेशा भएकाले सिलाई कटाईमा नै महिलाहरु बढी आकर्षित हुने गरेका छन् ।
सिन्धुलीका पछिडिएका ग्रामीण क्षेत्रका महिलाहरु समेत सिलाई कटाई पेशामा लागेपछि पुरुषहरुको आर्थिक भारमा कमी आउनुका साथै आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्