
सिन्धुली । सिन्धुलीमा मरिण खोलाले वर्षायाममा कटान गरेर स्थानीय किसानहरुको लाखौं हेक्टर खेती योग्य जमिन आज मरुभूमिमा परिणत भएकाे छ ।
चुरे भावर क्षेत्रको घनाजंगल फडानीका कारण वर्षायाममा आएको बाढी पहिरोबाट खेती योग्य जमिनहरुको वर्षेनी कटान भएर क्षति भएको हो । सखुवा जातको काठका लागि नेपालकै पहिलो भण्डार मानिने सिन्धुलीको जंगलबाट सालको काठ कटान र जंगल फडानीको क्रम अझै नरोकिएका कारण नदी कटानको समस्या समेत जस्ताको तस्तै रहेको छ ।
मरिणमा वनजंगल विनाशकै कारण वर्षायाममा आएको बाढी पहिरोले हजारौं हेक्टर खेतीयोग्य जमिनहरु मरुभूमिमा परिणत भएको स्थानीय किसानहरुले बताएका छन् । करिब ३ दशक अघिसम्म सिन्धुलीको मरिण खोला क्षेत्रलाई उर्वरा भूमिको रुपमा चिनिन्थ्यो । तर पछि त्यस क्षेत्रमा मानिसहरुको बसोबासको चाप समेत बढेर महाभारत पर्वत र चुरे वन श्रृंखलामा जंगल फडानी भएका कारण बाढी र पहिरोको प्रकोप बढेकाले नदी कटानको समस्याले बिकराल रुप लिएको हो ।
मरिण खोला क्षेत्रका किसानहरुका उर्वरा तथा खेतीयोग्य जमिनहरुलाई बाढीले कटान गरी लगेपछि हजारौं किसानहरु सुकुम्बसीको जीवन बिताउन बाध्य भएका छन् । हजारौंको परिवार बिचल्लीमा परेकोे छ । सरकारको सम्बन्धित निकायले मरिणखोलाको कटानलाई नियन्त्रण गर्न प्रभावकारी प्रयास नगरेका कारण समस्या बढेर गएकोे छ ।
वनजंगलको फडानी रोकथाम तथा दैवी प्रकोप निन्त्रणका विषयमा स्थानीय बासीन्दाहरुमा चेतना समेत नभएका कारण मरिणखोला कटानको समस्यामा कुनै परिवर्तन आउन सकेको छैन् । साेही समस्याको सवालमा स्थानीय बासीन्दा गोविन्दलाल माझी सरकारको सम्बन्धित निकायले मरिणखोला कटानको समस्या रोकथाममा बेवास्ता गरेको बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्