
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ ।
शुक्रबार सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्यपनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भएपनि काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।
त्यस्तै, भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसदको हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडी बढाउन आग्रह गर्नुभयो ।
उहाँले कुनैपनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तिब्रता दिनुपर्ने बताउनुभयो । उहाँले सरकारको तर्फबाट बजेटको सुनिश्चितता हुनुपर्ने र अन्य सम्बन्धित निकायले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्दै समयमै निर्माण कार्य सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
कुल ५ अर्ब २ करोड रुपैयाँमा वि.सं.२०७६ असोज १६ गते संघीय संसद भवन निर्माण कार्यको सम्झौता भएको थियो । ३ वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भएपनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्