
काठमाडौं । दशैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ ।
विगतको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।
साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो ।
दशैँ मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । शुक्रबारदेखि सरकारी तथा निजी कार्यालय दशैँ बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ ।
दशैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
दशैँ बिदाका दिन विराटनगरस्थित १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालय, थानकोटस्थित बागमती प्रादेशिक कार्यालय, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।
यस्तै, निगमको झापाको चारआलीस्थित शाखा कार्यालय धनुषास्थित इन्धन बिक्री डिपो, वीरगञ्जस्थित शाखा कार्यालय, दाङस्थित इन्धन डिपो र दिपायलस्थित शाखा कार्यालय बिदाका दिन पनि आवश्यकता अनुसार खुल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्