
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ ।
उहाँले नेपालीको चाडपर्व सुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गर्नुभयो ।
प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रबार मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
उहाँले केही बेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो । कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्